Sharing is caring!

दमौली २४ माघ । गाउँपालिकाको भवन निर्माण गर्ने विषयमा म्याग्दे गाउँपालिकाकी अध्यक्ष र उपाध्यक्ष बीच मतभेद हुँदा भवन निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।

नेपाली काग्रेसबाट विजयी अध्यक्ष माया राना र उपाध्यक्ष बालकृष्ण घिमिरे बीच स्थानको विषयलाई लिएर विवाद भएपछि गाउँपालिकाको भवन निर्माण कार्य अगाडि बढ्न नसकेको हो । गाउँपालिकाकी अध्यक्ष राना हालको वडा नं ४ र साविकको छाङग गाविसमा गाउँपालिकाको भवन बनाउने पक्षमा छन् भने उपाध्यक्ष घिमिरे वडा नं ३ को बेलटारमा गाउँपालिकाको भवन बनाउनु पर्छ भन्ने पक्षमा छन् । गाउँपालिकाको भवन निर्माण गर्ने विषयलाई लिएर दुवै स्थानको भौगोलिक अवस्था अवलोकन गरी प्राविधिक टोलीले प्रतिवेदन समेत पेश गरेको थियो । तर प्रतिवेदन त्यतिकै थन्काईएको अवस्था छ । जुन प्रतिवेदन जिल्ला समन्वय समिति सम्म समेत बुझाइएको थियो ।तर समन्वयले समेत सोचे अनुरुप चासो नलिएको हो कि भन्ने गुनासो म्याग्दे गाउँपालिकाबासीले गर्न थालेका छन् ।

यस विषयमा गाउँपालिकाकी अध्यक्ष माया रानासंग सम्पर्क गर्दा रानाले भवन निर्माणको विषयलाई छलफल भईरहेको बताइन् । तर कार्यक्रममा भएको हुँदा विस्तृत कुरा गर्न भने चाहिनन् । त्यस्तै गाउँपालिका उपाध्यक्ष घिमिरेसंग सम्र्पक गर्दा घिमिरेले पनि छलफल भईरहेको बताए ।

सम्भावित दुई स्थानको भौगोलिक अवस्था कस्तो छ त ?
गाउँपालिकाको भवन निर्माणका लागि अवलोकन गरिएका दुई स्थानमा मध्ये अध्यक्ष रानाको नजरमा परेको स्थान डाडा खारेर बनाइएको स्थान हो । जुन स्थान भिरालो भागमा रहेको छ । त्यस्तै सडक मापदण्ड लागू गर्दा समेत केही भाग पर्ने देखिन्छ । त्यस्तै सेवाग्राहीहरुलाई आवातजावत गर्न समेत बेलटारको तुलनामा केही असहज देखिन्छ । यता उपाध्यक्ष घिमिरेको नजरमा परेको बेलटार भौगोलिक समथर जमिन रहेको छ ।त्यस्तै तत्कालका केही संरचनाहरु निर्माण गरिएको अवस्था छ । पृथ्वीराजमार्गबाट करिब दुई सय मिटरको हाराहारीमा रहेको स्थान भएको हुँदा आवात जावतका लागि समेत सहज देखिन्छ ।

  भवन नहुँदा कामकाजमा समस्या 

यसैबीच गाउँपालिकाको आफ्नै कार्यालय भवन नहुँदा दैनिक निकै सास्ती बेर्होनु परेको छ ।

हाल कार्यालय रहेको भवनको कोठा निकै साँघुरा रहेको हुँदा अध्यक्ष ,उपाध्यक्ष देखि कार्यालयका कर्मचारीहरुलाई काम गर्न निकै समस्या हुने गरेको छ । अध्यक्ष र उपाध्यक्षको कोठामा दुई र चार सेवाग्राहीहरु छिरेको अवस्थामा बस्ने ठाउँको समेत अभाव हुने गरेको छ । त्यस्तै एउटै भवनमा स्थान हुँदा विषयगत कार्यालयहरु समेत छुटछुट्ै स्थानमा राख्नु पर्दा सेवाग्राहीहरुले निकै सास्ती बेर्होनु परेको छ ।

 
 
 
shares