Sharing is caring!

दमौली २५माघ । दमौली बजार क्षेत्रको पार्किङलाई व्यवस्थित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय , जिल्ला ट्राफिक प्रहरी कार्यालय र व्यास नगरपालिकाले पटक—पटक छलफल गरी कार्यान्वयका रणनीति समेत तय गर्दे आईरहेका छन् ।

जिल्ला प्रहरी , ट्राफिक प्रहरी र नगरपालिकाको सयुक्त प्रयासमा सफासडक ,भोर्लेटारचोक लगायतका चोकहरुमा ट्राफिक व्यवस्थापनमा केही सुधारका संकेत पनि देखिएका छन् । तर बजार क्षेत्रमा जुन हिसाबले ट्राफिक व्यवस्थापन हुनुपर्ने हो त्यो भने हुन सकिराखेको छैन । जसले गर्दा दमौली बजारलाई व्यवस्थित बनाउने विषयमा केही समस्या सिर्जना भईरहेको छ । जुन विषयलाई सेतीमादी छड्के टिमले केही समय देखि निगरानीमा राख्दै आईरहेको थियो ।

यसै सिलसिलामा बिहिबार सेतीमादी छड्के टिमले दमौलीका विभिन्न स्थानमा छड्के गर्दा पार्किङ निशेधित स्थानहरुमा मनपरी ढंगले सवारी साधान पार्किङ गरेर राखेको भेटिएको थियो । सेतीमादी टिमले सबैभन्दा पहिला प्रशासनचोक देखि अस्पताल प्रवेशद्धार सम्म छड्के गरेको थियो ।त्यसक्रममा कैलाश विकास बैंक अगाडि देखि दमौली अस्पतालको प्रवेशद्धारको भागमा मोटरसाइकलहरु रोकेर राखेको भेटिएको थियो । त्यस लगत्तै सेतीमादी छड्के टिमले प्रशासनचोक देखि मालपोत कार्यालय तर्फ पनि छड्के गरेको थियो ।त्यसक्रममा पनि वडा नं २ तिरको भागमा पार्किङ निशेधित क्षेत्रमा मोटरसाइकल र अन्य सवारी साधानहरु पार्किङ गरेर राखिएको थियो ।

त्यस्तै सेतीमादी दैनिकको छड्के टिम प्रशासन चोकबाट मुख्यचोक तर्फ अगाडि बढ्दै गर्दा गण्डकी विकास बैंक अगाडि स्कारपियो रोकेर राखि राखेको अवस्थामा भेटिएको थियो । त्यस लगत्तै सेतीमादी बागबजार स्थित सहिद गेट नजिक पुगेको थियो ।उक्त स्थानमा पनि झण्डै आधादर्जन सवारी साधानहरु नो पार्किङको बोर्ड राखिएको नजिक नै रोकि राखिएको अवस्थामा भेटिएका थिए । त्यस लगत्तै सेतीमादी टिम जोशी पेट्रोल पम्प अगाडि पुगेको थियो । जोशी पेट्रोल पम्पको पारि पट्टिको भागमा नो पार्किङको बोर्ड राखिएको स्थानम नै ट्रक र बस रोकि राखेको अवस्था भेटिएका थिए । त्यसको केहीबेर पछि सेतीमादी टिम फर्केर कालिका मार्ग नजिक आइपुगेको थियो । सेतीमादी टिम उक्त स्थानमा आइपुग्दा रोक्न निषेध भनि राखिएको बोर्ड भएको स्थानमा माइक्रोबस रोकेर यात्रु चढाउने र सामान झार्ने काम भई रहेको थियो । जुन कार्यले ट्रापिक नियमलाई धज्जी उडाउने काम भईरहेको थियो ।


ट्राफिक प्रहरीले भोर्लेटार चोक आसपासको क्षेत्रलाई व्यवस्थित बनाउनका लागि केही समय देखि सवारी साधान रोक्न निषेधित क्षेत्र घोषणा गरेको छ । सोही अनुरुप उक्त आसपासको क्षेत्रमा सवारी साधान रोक्न प्रतिबन्ध पनि लगाइएको थियो । यसरी सवारी साधान रोक्न प्रतिबन्ध लगाउँदा सर्वसाधारणलाई निकै सुविधा पनि पुग्दै आईरहेको थियो ।तर पछिल्लो समय नियम कार्यान्वयनमा अलि फित्तलो हुन थालेको छ ।जसले गर्दा सवारी साधानहरु रोक्न निषेधित क्षेत्रमा रोक्न थालेका छन् । यस तर्फ ट्राफिक प्रहरीको विशेष ध्यान पुग्नुपर्ने सर्वसाधारणहरुको भनाई रहेको छ ।

यसैबीच सेतीमादी छड्के टिमले बजारका विभिन्न स्थानमा निस्कदाँ निर्माण व्यस्त सडकहरुमा समेत अव्यवस्थित ढंगले राखेको भेटेको थियो । जसले गर्दा सवारी आवगमन र पैदल यात्रुहरुले समेत सास्ती बेर्होनु परेको दृश्य देखिएको थियो ।

 
 
 
shares