Sharing is caring!

दमौली बजार क्षेत्रका दिनप्रति दिन सवारी चाप बढ्ने क्रम जारी रहेको छ । यसरी चाप बढ्दै जानेक्रममा दमौलीको सडकको दायाँबायाँ जथाभावी रुपमा सवारी पार्किङ गर्ने क्रम बढ्दै जान थालेको छ । खासगरी दमौलीको प्रशासन चोक देखि मालपोत लाइन र दमौली अस्पतालको प्रवेशद्धार सम्मको भाग , सफा सडक , दमौलीको मुख्य चोक , भोर्लेटार चोक, बागबजार क्षेत्र ,गणेशमान चोक,न्यूरोड चोक लगायतका क्षेत्रमा जथाभावी रुपमा सवारी पार्किङ गर्नेक्रम बढि रहेको छ । अहिलेको हिसाबमा ति क्षेत्रहरुमा जथाभावी रुपमा सवारी पार्किङ गर्दे जाने हो भने केही समय भित्र थेगिनसक्ने अवस्था सिर्र्जना हुने निश्चित छ ।

यसो भन्दै गर्दा दमौली बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने विषयमा सम्बन्धित निकायले आज सम्म केही गरेको छैन भन्ने अर्थ लाग्न सक्दछ । यदि त्यसो सोचियो भने त्यो सरासर गलत हुनेछ । दमौलीको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय , जिल्ला ट्राफिक प्रहरी कार्यालय र व्यास नगरपालिकाले सयुक्त रुपमा पहल कदमी चाल्दै आईरहेका छन् । ति निकायहरुको सयुक्त पहलका कारण सफासडक,पृथ्वीराजमार्गको दमौली बजार क्षेत्रको भाग र भोर्लेटार चोक लगायतका स्थानमा विगतको तुलनामा धेरै सुधार पनि भईरहेको अवस्था छ ।तर जुन रुपमा हुनुपर्ने हो त्यो भने हुन सकिराखेको अवस्था छैन । जसले गर्दा दमौलीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्न पुगिरहेको छ ।यो अत्यन्त गम्भीर विषय हो ।यस विषयमा सरोकारवाला निकायहरुको ध्यान पुग्नु जरुरी देखिन्छ । खासगरी पछिल्लो समय पार्किङ निषेधको बोर्ड राखिएको स्थानमा पनि सवारी साधानहरु राख्नेक्रम जारी रहेको छ । जसले ट्राफिक नियमको खिल्ली उडाई रहेको छ ।यसका अलावा सडक नै ओग्ट्ने हिसाबले निर्माण सामाग्री समेत राखेको देखिन्छ ।त्यसले पनि सवारी आवगमन र पैदल यात्रुहरुले सास्ती बेहोरिरहनु परेको छ । त्यसलाई समेत व्यवस्थित बनाउने विषयमा सरोकारवाला निकायको ध्यान पुग्नु जरुरी छ ।

 
 
 
shares