Sharing is caring!

डम्बर अधिकारी
दमौली १३ पुस ।

२०२५ सालमा बन्दीपुरबाट दमौली स्थान्तरणको घटना त्यतिबेलाका मानिसहरुको आँखा अगाडि अझै पनि झल्झली आईरहेको हुनुपर्दछ ।तर पछिल्लो पुस्तालाई भने सदरमुकाम दमौली उक्त घटना एकादेशको दन्त्य कथा जस्तो हुने गरेको छ ।यस अर्थमा कि उक्त घटनाको विषयमा अघिले पुस्ताका कसैले जानकारी गराई दिएको खण्डमा मात्र पछिल्लो पुस्ताले सुन्ने अबसर पाउने गरेका छन् । तर उक्त घटनासंग सम्बन्धी जानकारी र सामाग्रीको विषयमा खोजी नहुँदा बन्दिपुरबाट दमौली सदरमुकाम स्थान्तरण गर्दाका महत्वपूर्ण विषयहरु लोप भएर जाने अवस्थामा पुगेको छ ।

कुनै बेलाको टाप्रेघारी दमौली बन्दिपुरबाट सदरमुकाम स्थान्तरण भएसगै यतिबेला बजार हुँदै सहरमा परिणत हुँदैछ । सेउला र घरका छानाहरु रहेको दमौलीमा गगन चुम्बी महलहरु बन्ने क्रम जारी रहेको छ । तर त्यतिबेलाको टाप्रेघारी दमौली अहिले कसरी यो अवस्थामा आइपुग्यो कसको कति योगदान रहेको छ यस विषयमा सरोकारवाला निकायहरुले खासै ध्यान दिएको देखिदैन । सरोकारवाला निकायहरुले चासो नदिएपनि त्यतिबेला बन्दिपुर र बन्दिपुर आसपासको क्षेत्रमा सारङगी रेट्दै हिड्ने गोरखाका यि अक्कलबहादुर गन्र्धवले भने आफ्नो गीत मार्फत उनीहरुको योगदानको कदर गरेका छन् । हाल गोरखको गोरखा कालिका मन्दिरमा सारङगी रेट्दै जीवन गुजारा गरिरहेका अक्कलबहादुर गोरखाकालिका दर्शन गर्न कोही तनहुँङगे भेटि हाले भने त्यतिबेलाको घटनाक्रमलाई गीत मार्फत यसरी सुनाउने गर्छन ।

गीतको केही अंश
धनेश्वर ,तारापति ,गञ्जसिं आले
आठै अड्डा सारौं भन्दा युवकले जोवन फाले

आठै र अड्डा दमौली झरेको
बन्दिपुरे सब जिल्ल परेको

जामुनेको प्रधानपञ्च रामजी अगि सरे
२५ सालमा बन्दीपुरमा ठूलो हुलचाल गरे

सदरमुकाम दमौली घाटलाई
अमर बनाऔं निर्मलभाटलाई

अड्डा र लुट्न भनि सिडिओ ज्यू आए
महिला संघ पार्टी उठी हुलचाल गर्न लाए

समाई ल्याउन मेघनाथ कैनीलाई
नमस्कार छ महिला संघ बहिनीलाई

आउँदा र आउँदै तीन छोरा आगनीमा झरयो
प्राण जान निर्मललाई कति सकस परयो

निर्मलको घर परयो ३ नं वडा
हाम्रो लाश यतै लान्छौ अब बाटो छोड

भावी राज के लेख्यो शीरमै
एक्लै निर्मल मरस्याङदी तीरैमा

थान सिंका मान्छेहरु एक र एक गन्छन्
सबै आयो भने देखि निर्मल आ छैन भन्छन्
………………………………………………………
सदरमुकाम दमौली घाटलाई
अमर बनाऔं निर्मलभाटलाई

बन्दिपुरबाट दमौली सदरमुकाम स्थान्तरणको घटनालाई आफूले नजिकबाट नियाल्ने अवसर पाएको हुँदा उक्त घटनालाई संकलन गरेको गन्र्धवले बताए ।गन्धर्वले गीतमा निर्मल रानाभाटले सहादत प्राप्त गरेको र मेघनाथ कैनीले प्रस्तुत गरेको सहासलाई उच्च सम्मान गरेका छन् ।त्यस्तै गन्र्धवले गीतमा त्यतिबेलाका अगुवाहरु रामजी , धनेश्वर, तारापति ,गुञ्ज सिं आले र सिडिओले निर्वाह गरेको भूमिकाको निकै प्रशंसा गरेका छन् । त्यस्तै महिला खेलेको भूमिकाको पनि गन्धर्वले गीतमा प्रशंसा गरेका छन् भने बन्दीपुरेहरुको पीडालाई समेत गीत मार्फत व्यक्त गरेका छन् ।

 बन्दिपुरबाट सदरमुकाम दमौली स्थान्तरण गर्दा आफूले रचना गरेको गीतबाट दमौली र आसपासका बासिन्दा अत्यन्त खुसी भएको र निर्मलाका परिवारले आफूलाई पुरस्कार समेत दिएको गन्धर्वले बताए । तर बन्दिपुरेहरु भने आफूसंग रिसाएको विगत सुनाए ।त्यतिबेला बन्दिपुरेहरु रिसाउनु स्वभाविक भएको पनि गन्धर्वले बताए ।  दमौली सदरमुकाम स्थान्तरण हुँदै गर्दा त्यतिबेला बन्दिपुरको सर्वस्व लुटिएको अनुभूति आफूले समेत गरेको गन्धर्वको भनाई रहेको छ । सदरमुकाम स्थान्तरण हुँदा रचना गरेको गीत त्यतिबेला जिल्लाको बस्ती बस्तीमा पुगेर सुनाएको गन्धर्वले बताए ।मैले त्यतिबेला यो गीत गाउँद निर्मलाका बाबु आमा मुर्छा परेका थिए भने जिल्लाबासी सबैको आँखा रसाएका थिए विगत सम्झदै गन्र्धवले भने । 

निर्मलको नाममा विद्यालय
यसैबीच सदरमुकाम दमौली स्थान्तरण गर्दा सहादत प्राप्त गरेका निर्मल रानाभाटको स्मृतीमा व्यास १ भादगाउँमा निर्मल माध्यमिक विद्यालय स्थापना गरियो । हाल उक्त विद्यालय आसपासको बस्तीको नाम समेत निर्मल बस्ती राखिएको छ । त्यस्तै निर्मल स्मृती भवन निर्माण अभियान समेत थालिएको छ । सदरमुकाम दमौली स्थान्तरण गर्दा सहादत प्राप्त गरेका निर्मलको नाममा हाल जति काम भएका छन् त्यसलाई सकारात्मक रुपले हेर्दे अझै अरु काम गर्नुपर्ने दमौलीबासीको भनाई रहेको छ ।

दमौली बजारमा निर्मलको सालिक राख्न किन कञ्जुस्याई ?
यसैबीच बन्दिपुरबाट दमौली सदरमुकाम दमौली स्थान्तरण गर्दा सहादत प्राप्त गरेका निर्मलको संझनामा बजार क्षेत्रमा संरचना बनाउन कञ्जुस्याई भई रहेको छ ।जसले गर्दा निर्मलले आज सम्म जति सम्मान पाउनु पर्ने हो त्यो हुन सकिराखेको छैन ।यहाँसम्मकि सदरमुकाम दमौलीमा निर्मलको सालिक राख्ने देखि अन्यकाम भएको छैन ।

सालिक कहाँ राख्दा होला उत्तम ?
पञ्चायत कालमा पुरानो जिल्ला प्रशासन कार्यालय अगाडि रहेको पार्कमा महेन्द्र सालिक समेत राखिएको थियो ।तर जनआन्दोलन भाग २ मा महेन्द्र सालिक तोडफोड भएको छ । जसलाई कपडाले बेरेर राखिएको छ ।कतिपयले उक्त सालिकलाई यथास्थानमा राख्नुपर्ने बताईरहेका छन् भने कतिपयले हटाउनुपर्ने आवाज उठाएका छन् ।यदि महेन्द्रको सालिकनै हटाउने हो भने निर्मल रानाभाटको सालिक राख्दा कुनै अन्यथा नहुने तर्क समेत दमौलीबासीको रहेको छ ।

पार्कको नाम निर्मल राख्दा के होला ?
यसैबीच व्यास नगरपालिका वडा नं ३ मा वडा कार्यालयको सक्रियतामा पार्क निर्माण गरिएको छ ।उक्त पार्कको नाम निर्मल पार्क राखी त्यतिबेला सहादत प्राप्त गरेका निर्मल र अन्य योद्धाहरुको सकेसम्म सालिक नभएपनि स्तम्भ निर्माण गरी नाम राख्दा उत्तम हुने जिल्लाबासीको भनाई रहेको छ ।

 
 
 
shares