Sharing is caring!

डम्बर अधिकारी
गत अप्रिल देखि १९ मे सम्म सात चरण गरी सम्पन्न भएको छिमेकी मुलुक भारतको तल्लो सदन लोकसभाको निर्वाचन परिणाम सार्वजनिक भएको छ । कुल ५४३ सदस्यीय लोकसभामा भारतीय जनता पार्टी एक्लैले ३ सय भन्दा बढी सिट जितेको छ भने भारतीय जनता पार्र्टीको गठबन्धन एनडिएले ३४९ सिट हात पारेको छ । जबकि भारतीय जनता पार्टी अघिल्लो लोक सभा निर्वाचनमा ३३६ सिट जितेको थियो । भारतीय लोक सभा निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत जित हात पार्दे गर्दा काग्रेस भने लज्जाजनक हार बेर्होन पुगेको छ । निर्वाचन परिणाम अनुसार काग्रेस ५३ सिटमा चित्त बुझाउन बाध्य भएको छ ।

भारतमा लोक सभाको निर्वाचन हुनु अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताका कारण पुनः भारतीय जनता पार्टीको पुनरागमन हुने अनुमान विश्लेषकहरुले गरेका थिए । तर अहिलेको जस्तै चुनावी परिणाम आउँछ भन्ने अनुमान भने कमैको रहेको थियो । खासगरी भारतीय लोकसभाको निर्वाचनलाई नजिकबाट नियालेर हेर्ने हो भने भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हालेका ५ बर्षको अवधिमा राष्ट्रिय सुरक्षा र हिन्दूत्वको मुद्धालाई सशक्त ढंगले उठाए । यसका अलावा किसान लक्षित अनुदान वितरण , विपन्न लक्षित खाना पकाउे ग्यास वितरण ,शौचालय योजना प्रधानमन्त्री मोदीले आफ्नो ५ बर्षे कार्यकालमा प्रभावकारी ढंगले अगाडि बढाए ।त्यसैगरी कालो धन विरुद्ध चालेको अभियान पनि सफल हुन पुग्यो । यिनिहरुका अन्य कार्यक्रमले भारतीय जनतामा राम्रो छाप परयो र यसपटकको लोकसभा निर्वाचनमा चुनावी नतिजा भारतीय जनताको पोल्टामा पर्न पुग्यो । खासगरी भारतीय जनता पार्टीले यस किसिमको चुनावी नतिजा हात पार्नुमा प्रधानमन्त्री मोदी प्रमुख पात्र हुन ।जसको प्रभावका कारण नै यो नतिजा हात परेको छ । यो चुनावी नतिजाले भारतमा पुनः मोदी नै प्रधानमन्त्री हुनेमा कुनै शंका छैन ।

यसरी भारतमा पुनः मोदी प्रधानमन्त्री हुँदै गर्दा नेपालमा हिन्दू राष्ट्रको मुद्धाले चर्चा पाउने अनुमान गरिएको छ ।किनकि भारतीय जनता पार्टीमा नेपाललाई सम्भव भएसम्म राजतन्त्र सहितको हिन्दूराष्ट्र सम्भव नभए हिन्दू राष्ट्र मात्रै भएपनि घोषणा गरिनु पर्छ भन्ने पक्ष बलियो रहेको छ । यसैक्रममा भारतमा भारतीय जनता पार्र्टीको पुनरागमन हुँदै गर्दा नेपालमा हिन्दूत्वको मुद्धा उठाउने राजनीतिक दल र राजनीतिक दलका नेताहरु समेत नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न सकिन्छ कि भन्नेमा आशावादी देखिन थालेका छन् । खासगरी नेपालमा यतिखेर राजतन्त्र सहितको हिन्दू राष्ट्रको मुद्धालाई राप्रपा नेपालले उठाई रहेको छ भने नेपाली काग्रेस भित्र समेत हिन्दू राष्ट्रको मुद्धालाई सशक्त ढंगले उठाई राखेको अवस्था छ । काग्रेसमा जसको अगुवाई गरिराखेका काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी ,दिलेन्द्र प्रसाद बडु ,पुष्पा भूषाल ,कर्ण मल्ल लगायतका नेताहरुले ।यसरी हिन्दू राष्ट्रको मुद्धा उठाउने क्रममा पार्टी महासमिति बैठकमा समेत ७ सय भन्दा बढी सदस्यहरुले हस्ताक्षर गरेर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका थिए ।तर पार्टीको महासमिति बैठकमा यो मुद्धालाई खासै प्राथमिकता दिइएन । तर के.स.भण्डारी सहितका नेताहरुले हिन्दूत्वको मुद्धालाई निरन्तर रुपमा उठाई रहेका छन् ।

हुन त भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदीले हिन्दूत्वको मुद्धालाई उठाएर दोस्रो पटक सत्तामा पुगेका छन् ।तर भारत त्यस्तो राष्ट्र हो जसले चाहेर पनि भारतलाई हिन्दू राष्ट्र घोषणा गर्न सक्ने अवस्था देखिदैन ।यस्तो अवस्थामा भारतीय जनता पार्र्टी र प्रधानमन्त्री मोदीले नेपाललाई हिन्दू राष्ट्र बनाउने विषयमा किन टाउको दुखाई गर्लान भन्ने एकथरीको भनाई रहेको छ । तर विगत देखि नै भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदीमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ भन्ने भित्रि चाहना रहेको र यता नेपालमा हिन्दू राष्ट्र घोषणाको आवाज उठि रहेको हुँदा भारतीय लोकसभाको पछिल्लो चुनावी परिणामले नेपाललाई हिन्द्यू राष्ट्र घोषणा गर्ने विषयमा मद्धत नपुरयाउनला भन्न सकिदैन ।

 
 
 
shares