Sharing is caring!

डम्बर अधिकारी
म केटाकेटी हुँदा साथीभाईले भनेको सुनेको थिए । क बाट सुरु भएको नेपालको शाहवंश ज्ञ मा पुगेर अन्त्य हुनेछ । नभन्दै कुलमण्डल शाहबाट सुरु भएको नेपालको शाह वंशको अन्त्य ज्ञानेन्द्र शाहको शासन पालामा अन्त्य हुन पुग्यो । अर्थात जनताको मतबाट निर्वाचित संविधान सभा सदस्यहरुले पहिलो संविधान सभा मार्फत २ सय ४० बर्ष लामो राजतन्त्र अन्त्य गरे । पहिलो संविधान सभाले राजतन्त्र अन्त्य गरे संगै नागरिक बनेका पूर्व राजा ज्ञानेन्द्र यतिखेर निर्मल निवासमा बसिराखेका छन् ।

हुन त पूर्व राजा ज्ञानेन्द्र शाह वंशिय परम्परा अनुसार राजा भने भएका होइनन् । तत्कालिन राजा विरेन्द्रको दरबार हत्याकाण्डमा वंश विनाश भएपछि ज्ञानेन्द्र शाह राजा हुन पुगेका थिए र मुलुकको शासन सत्ता शाह वंशिय परम्परा अनुसार सञ्चालन गरिरहेका थिए । तर राजा ज्ञानेन्द्रको एक पछि अर्को कदमले ज्ञानेन्द्र शाह निरङकुशता तर्फ अगाडि बढ्न पुगे ।यसरी निरङकुश पथ तर्फ बढ्ने क्रममा ज्ञानेन्द्रले तत्कालिन प्रधानमन्त्री शेरबहादुरलाई अपदस्थ गरि शासन सत्ता आफ्नो हातमा लिए ।त्यसपछि जतिपनि सरकार गठन भए ति सरकारहरु ज्ञानेन्द्रकै कठपुतली बन्न पुगे ।त्यतिमा मात्र ज्ञानेन्द्र शाहको सत्ता मोह रोकिएन । मन्त्रिपरिषदको अध्यक्षको जिम्मेवारी नै आफैले लिए ।त्यसपछि उनी भित्र कत्ति सत्ता मोह रहेछ भनेर छर्लङग ।तर दुरभाग्य ज्ञानेन्द्रको सत्ता मोहले ज्ञानेन्द्रलाई मात्र सत्ताबाट घोक्रयाएन सिङगो राजतन्त्र समेत अन्त्य हुन पुग्यो जनआन्दोलन भाग —२ को बलमा ।

तत्कालिन राजा ज्ञानेन्द्र राजाबाट नागरिक बनेपनि उनको राजसी शैलीमा अझै कुनै परिवर्तन आएको छैन । दशैंमा टिका ग्रहण गर्दाहोस या तिहारमा बहिनी शोभासंग भाइटिका ग्रहण गर्दा उनको आफ्नै साइत हुने गर्दछ । त्यस्तै जन्मदिन मनाउँदा समेत ज्ञानेन्द्रमा श्री ५ महाराजधिराजकै रवाफ देखिन्छ । त्यस्तै ज्ञानेन्द्र सार्वजनिक सभा समारोहमा र मठ मन्दिरमा सहभागि हुँदा विगतमा जुन ढंगले प्रस्तुत हुने गर्दथे ।आजपनि त्यही ढंगले प्रस्तुत हुने गर्दछन् । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र पोखरा रहेका छन् ।पोखरामा रहेका ज्ञानेन्द्र पूजा अर्चना देखि भेटघाटमा व्यस्त रहेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र पोखरा विमानस्थलमा अवतरण भए देखि राजतन्त्र र उनको पक्षमा एक किसिमको माहोल सिर्जना हुन पुगेको छ । उनी जहाँ—जहाँ उपस्थित भएका छन् राजतन्त्र र उनको पक्षमा जयजयकार भईरहेको छ ।यसले नेपाली जनताको मन भित्र कता —कता राजतन्त्र प्रति रहि रहेको झल्को हुन्छ ।यसो हुनुमा राजतन्त्र अन्त्यपछि राजनीतिक दलका नेताहरुले निर्वाह गरेको भूमिका नै प्रमुख कारण हो ।किनकि राजतन्त्र अन्त्य भएसगै राजनीतिक दलका नेताहरुबाट जनताले अपेक्षा गरे अनुरुप राज्य सञ्चालन भई दिएको भए अवश्य पनि पूर्वराजा ज्ञानेन्द्रको पक्षमा यसरी जयजयकार हुने थिएन ।

राजतन्त्र र आफ्नो पक्षमा यसरी जयजयकार हुँदै गर्दा पूर्व राजा ज्ञानेन्द्र र राजतन्त्रवादीहरुलाई पुनः राजतन्त्र फर्कन्छ भन्ने झिनो आशा समेत रहेको छ ।विश्वका अन्य मुलुकका घटनाक्रमलाई हेर्दा पनि नेपालमा राजतन्त्र नफर्केला पनि भन्न सकिदैन । तर पूर्व राजा ज्ञानेन्द्र अहिले जुन हिसाबले देवताको मन्दिर धाएर राजतन्त्र फर्काउने प्रयत्न गर्देछन् ।त्यसमा कुनै तुक छैन ।यदि पूर्व राजा ज्ञानेन्द्र साच्चिनै राजतन्त्र फर्काउने सोचमा लागेका छन् भने उनले देवताको नभई संसदीय मन्दिरको बाटो रोजेर दुई तिहाई मार्फत संविधान सशोधन गरी राजतन्त्र स्थापनाको बाटो रोज्नु जरुरी छ ।यो बाटो पनि त्यति सहज छैन । त्यसका लागि बेलायतको जस्तो सम्मानित राजसंस्था स्थापना गर्ने प्रतिबद्धता ज्ञानेन्द्रबाट हुनुपर्दछ । त्यसका लागि हालको प्रमुख प्रतिपक्षी दल काग्रेस र राजतन्त्रवादीको पूर्ण साथ चाहिन्छ । त्यतिले मात्र त्यति सहज छैन ।त्यसका लागि कम्युनिटहरुको पनि मन जित्नु जरुरी पर्दछ । यदि त्यसो भएको खण्डमा मात्र नेपाली धर्तिबाट कहिल्यै पनि बिदा नहुने राजतन्त्र स्थापित हुनेछ ।

रोज्लान् त ज्ञानेन्द्रले संसदीय राजनीतिको बाटो
छिमेकी मुलुक भारतका विभिन्न राज्य र केन्द्रीय राजनीतिमा समेत यतिखेर पूर्व राज घरानियाहरुको उपस्थित रहेको छ । जसको ज्वलन्त उदारहणमा भारतीय राजनीतिज्ञ करन सिंहलाई लिन सकिन्छ । सिंह भारतको लोक सभा संसद सदस्य समेत भएका थिए । भारतीय राष्ट्रिय काग्रेसको वरिष्ठ सदस्य समेत रहेका सिंह जम्मु काश्मिरको राजघरानाका सदस्य हुन् । उनको पारिवारिक सम्बन्ध नेपालमा समेत रहेको छ । सिंहले जसरी भारतीय संसदीय राजनीति अर्थात संसदीय मन्दिरको बाटो रोजे त्यो के नेपालका पूर्व राजा ज्ञानेन्द्रले रोज्लान ? यतिखेर वहसको विषय बनिरहेको छ ।तर मुलुकबाट राजतन्त्र अन्त्य हुँदै गर्दा पूर्व राष्ट्रध्यक्षको सम्मान पाएका ज्ञानेन्द्रले संसदीय राजनीतिको बाटो रोज्ने सम्भावना निकै कम रहेको छ । पूर्वराजा ज्ञानेन्द्रले मात्र होइन उनका पुत्र पूर्वयुवराज पारस समेत संसदीय राजनीतिमा जाने सोचमा देखिदैनन् र पूर्व युवराज पारस गई हालेपनि उनको विवादस्पद छविका कारण जनताले पत्याउने अवस्था देखिदैन । यदि पूर्व राजा ज्ञानेन्द्रकी बुहारी हिमानी ,नाति हृदयन्द्रलाई अगाडि सारेको खण्डमा राजतन्त्र फर्काउने अभियान ज्ञानेन्द्र र पारसको तुलनामा केही सहज हुने देखिन्छ ।किनकि हिमानी र हृदयन्द्र प्रति आम नेपाली जनता प्रति एक किसिमको सद्भाव देखिन्छ । हिमानी र हृयन्द्रका अलावा राजा विरेन्द्रकी छोरी श्रुतीका छोरीहरुलाई पनि अगाडि सारेको खण्डमा राजतन्त्र व्यूतन सक्ने झिनो आशा देखिन्छ ।तर सिधै नभई संसदीय राजनीति अर्थात संसदीय मन्दिरको बाटो ।

ज्ञानेन्द्रमा दक्षिणको झिनो आशा कायमै
पूर्व राजा ज्ञानेन्द्रलाई छिमेकी मुलक भारत त्यसमा भारतीय जनता पार्टीको साथ लिएर गुमेको राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने झिनो आशा अझै कायमै रहेको छ । त्यहि झिनो आशा लिएर उनी बेला बखत भारत जाने समेत गरेका छन् ।तर भारत र भारतीय जनता पार्टीले राजतन्त्र फर्काउन विषयमा खासै चासो दिएको देखिदैन । यदि चासो दिई हाल्यो भने पनि उसको ठूलो स्वार्थ जोडिने छ ।

कमल थापा पाइन बिनाको घोडा
मुलकबाट राजतन्त्र अन्त्य भएपनि राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजतन्त्रको मुद्धालाई छाडेका छैनन । हिन्दु राष्ट्र र राजतन्त्रको मुद्धाबाट कमल थापा लोकतन्त्र आएपछि उपप्रधानमन्त्री पनि भए । तिनै थापाले आजका दिनसम्म पनि हिन्दुराष्ट्र र राजतन्त्रको मुद्धा उठाई रहेका छन् ।यहि बीचमा पोखरामा पूर्वराजा ज्ञानेन्द्रसंग भेटवार्ता समेत गरेका छन् । सम्भवत पूर्वराजा र थापाबीच भेटवार्ताका क्रममा हिन्दुराष्ट्र र राजतन्त्र पुर्नस्थापना कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल पनि भएको हुनुपर्दछ ।तर पूर्वराजा ज्ञानेन्द्र के सोच्नु जरुरी छ भने कमल थापाले हिन्दुराष्ट्र र राजतन्त्रको मुद्धा उठाएपनि यतिखेर पाइन बिनाको घोडा जस्तै हुन पुगेका छन् । जसबाट हिन्दुराष्ट्र र राजतन्त्र पुर्नस्थापनको मुद्धा साकार हुन्छ भन्नु दिवा सपना देख्नु बाहेक अरु केही हुने छैन ।

अन्तमा, यदि पूर्व राजा ज्ञानेन्द्र साँच्चिनै राजतन्त्र फर्काएर नेपालमा पनि बेलायतको जस्तो सम्मानित राजतन्त्र कायम गर्न चाहन्छन् भने उनी देवताको मन्दिर नभई जनताको मतबाट निर्माण भएको संसदीय राजनीतिको मन्दिर रोज्नु जरुरी छ ।जुन मन्दिरलाई जनताले सधै खुसी भएर पुज्नेछन् । यो बाटो अगाडि बढ्दा राजतन्त्र पुर्नस्थापना सम्भव नभएपनि आफ्नो पुर्खाले निर्माण गरेको मुलुक जोगाई राख्ने अवसर पूर्व राजपरिवारलाई मिल्नेछ । त्यो पनि एउटा अवसर हुनेछ ।

 
 
 
shares