Sharing is caring!

दमौली ०१ जेठ । वहुउदेश्यीय भवनमा व्यापार व्यवसाय गर्ने व्यवसायीले समयमा नै भाडा नतिरेको भन्दै व्यास नगरपालिकाले मंगलबार दुई वटा सटरमा तालाबन्दी गरिदिएको छ ।
भाडामा बसेका व्यवसायीहरुले समयमा नै भाडा नतिरेको भन्दै राजश्व शाखाका प्रमुख कृष्णराज घिमिरे सहित नेपाल प्रहरी , नगरप्रहरी र कार्यालयका कर्मचारीको टोलीले सटर नम्बर १३२ र १०८ मा तालाबन्दी गरिदिएको थियो । तालाबन्दी गरि दिएपछि व्यवसायीहरु आक्रोशित बन्न पुगेका थिए । नगरपालिकाले दादागिरी शैलीमा सटरमा तालाबन्दी गरिदिएको व्यवसायीहरुको भनाई रहेको थियो । यता यस विषयमा राजश्व शाखाका प्रमुख घिमिरेसंग सम्र्पक गर्दा धरौटी नाघेको सटरमा नगरपालिकाले तालाबन्दी गरिएको बताए । सटरमा तालाबन्दी गर्नु अगाडि लिखित र मौखिक जानकारी गराएको समेत घिमिरेले बताए । घिमिरेका अनुसार सटर नम्बर १३२ ले ६ महिना र सटर नम्बर १०८ले ४ महिनाको भाडा नतिरेको बताए ।
यता १०८ नम्बरका सटर धनी राजकिशोर यादवले भने ३ महिना बराबरको धरौटी आफूले नगरपालिकालाई बुझाएको र १ महिना बाँकी हुने बित्तिकै तालाबन्दी गरिदिएको बताए । आफूले भोली नै भाडा तिर्छु भन्दा भन्दै पनि तालाबन्दी गरिदिएको उनको भनाई थियो । कपडा व्यवसायीले उक्त सटरमा मासिक ६० हजार भाडा तिर्ने सम्झौता नगरपालिकासंग गरेका थिए । भाडा तिर्छु भन्दा भन्दै पनि तालाबन्दी गरिनु व्यापारी माथि दमन भएको अन्य व्यवसायीको समेत गुनासो रहेको थियो ।

वहुउदेश्यीय भवनमा टिक्नै गाह्रो भएको व्यवसायीको गुनासो

यसैबीच नगरपालिकाले बढी मूल्य राखेर वहुउदेश्यीय भवनको टेण्डर आव्हान गरेका कारण प्रतिस्पर्धामा जाँदा भाडा अत्याधिक हुन पुगेको व्यवसायीहरुको गुनासो रहेको छ । अहिलेको तिरेको भाडामा केही कमी नगर्ने हो भने टिक्नै गाह्रो हुने व्यवसायीहरुको भनाई रहेको छ ।अहिले त दुईवटा सटरमा ताला लागेको छ भोलिका दिनमा सबै सटरमा तालाबन्दी नहोला भन्न सकिन्छ वहुउदेश्यीय भवनमा व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरुको एउटै भनाई छ । त्यस्तै नगरपालिकाले चर्को भाडा लिएपनि शौचालय देखि बिजुली जाँदा अन्धकारमा बस्नु परेको व्यवसायीहरु गुनासो रहेको छ । यस विषयमा राजश्व शाखा प्रमुख भने शौचालय सार्वजनिक जस्तो भएको हुँदा नगरपालिकाले पूर्ण ध्यान दिन पुरयाउन नसकेको र जेनेरेटर तयारी अवस्थामा रहेपनि प्राविधिक नभएका कारण जोड्न नसकिएको घिमिरेले बताए ।

वहुउदेश्यीय भवनका कारण बढ्यो दमौली बजारको भाडा
यसैबीच निजी बैंकहरुका कारण बढ्न पुगेको दमौलीको भाडा वहुउदेश्यीय भवनको भाडाले झन बढ्न पुगेको छ । जसले गर्दा त्यसको प्रत्यक्ष मार नगरबासीहरुले भोग्दै आई रहनु परेको छ ।

 
 
 
shares