Sharing is caring!

दमौली २ माघ
तेजबहादुर पन्त अघिल्लो पुस्ताका लागि तनहुँमा कुनै नौलो नाम होइन । पन्तको नाम सुन्ने बितिकै हिजोआज पनि उनले त्यतिबेला काग्रेस पार्टी र प्रजातन्त्र प्राप्तिका लागि प्रर्दशन गरेको साहसलाई सम्झेर अघिल्लो पुस्ताका जिल्लाबासीहरु जिब्रो टोक्ने गर्दछन् । तर काग्रेस पार्टी र प्रजातन्त्र प्राप्तिका लागि लडेका पन्तले ७५ बर्ष पुगिरहँदा राजनीतिमा कुनै लाभको पद पाएका छैनन् । यद्यपी राजनीतिक रुपमा लाभको पद हात नपर्दे गर्दा पनि उनमा काग्रेस पार्टी र पार्टीका शीर्ष नेताहरुप्रति कुनै गुनासो भने छैन ।आफ्नो भाग्यमा सांसद र मन्त्री बन्न लेखेको रहेनछन् भनेर चित्त बुझाउने गरेका छन् ।

बाल्यकाल देखि नै राजनीतिक चेतना भएको परिवारमा जन्मिएका पन्त २०१५ सालको निर्वाचनमा चुनाव प्रचार—प्रसारका क्रममा विपी कोइराला मिर्लुङ आउँदा विपी कोइरालाबाट प्रभावित भएर पन्त काग्रेस पार्टीमा होमिएका थिए । १४ बर्षको कलिलो उमेरमा काग्रेस पार्टीको राजनीतिमा होमिएका पन्तले पार्टी भूमिगत अवस्थामा रहँदा प्राण हत्केलामा राखेर तनहुँमा काग्रेस पार्टीको संगठन गरेका थिए । खासगरी २०२२ साल देखि उनी सक्रिय रुपमा पार्टीमा लागेका थिए । यसरी सक्रिय रुपमा लाग्ने क्रममा २०२६ सालबाट करिब ५ बर्ष लगातार वनासर गएर विपी कोइराला लगायतका पार्टीका अन्य नेताहरुको निर्देशनमा तरुण पत्रिका तनहुँ ल्याई बस्ती–बस्तीमा पुर्याउने काम गरेका थिए । त्यतिमात्र होइन त्यो बीचमा उनले चन्द्रावती र निर्मल माध्यमिक विद्यालयमा शिक्षकको भूमिका रहेर समेत काग्रेस पार्टीको संगठन मजबुत बनाउन निरन्तर लागि परे । पार्टी संगठन निरन्तर अगाडि बढाउने क्रममा पार्टीले आई परेको अवस्थामा सशस्त्र आन्दोलन घोषणा गर्न सक्ने हुँदा त्यसलाई आवश्यक पर्ने हतियार समेत लुकाएर राखेका थिए । पन्तले बताए अनुसार त्यतिबेला सशस्त्र आन्दोलनका लागि आवश्यक पर्न सक्ने भन्दै गिरिजा प्रसाद कोइरालाले पठाएको २ नाल राइफल, ४ नाथ रिवल्भर र एक सय थान गोली उनले घरमै लुकाएर राखेका थिए । जतिबेला उनी माथि प्रशासनको कडा निगरानी रहेको थियो । तर प्रशासनले फेला नपारेका कारण उनी माथि कार्वाही भने हुन पाएन ।

पन्तको सहास यतिमा मात्र सिमित छैन जिल्ला पञ्चायतले आव्हान गरेको पञ्च भेलामा अविलम्ब बहुदल घोषणा गराउनु पर्छ भनेर निर्णय गर्न समेत बाध्य पारेका थिए । सम्भवतः जिल्ला पञ्चायतको उक्त निर्णय अहिलेको जिल्ला समन्वय समितिमा खोज्यो भने भेटिन्छ होला । त्यस्तै पन्तले त्यतिबेला प्रशासक देखि पञ्चायतका सहायकमन्त्री हिरालाल विश्वकर्मालाई समेत हायलकायल  बनाएका थिए । विपीको प्रेरणबाट काग्रेस बनेका पन्त झण्डै १५ बर्ष तनहुँका गाउँ बस्तीमा पुगेर पार्टीको संगठन मजबुत बनाउन लागि परे । त्यतिले मात्र उनको चित्त बुुझेन र जिल्ला तहमा नै काग्रेसको संगठन बनाउनु पर्छ अगाडि सरे । उनीहरुको जोडबलमा गोवर्धन शर्माको नेतृत्वमा पार्टीको जिल्ला कार्य समिति बन्न पुग्यो । त्यसपछि भूमिगत रुपमा नै भएपनि पार्टीका गतिविधी सञ्चालन हुन थाले । जसको प्रभावका कारण जनमत संग्रहमा तनहुँमा काग्रेसीको शीर ठाडो हुन पुग्यो । जनमत संग्रहमा बहुदल पक्षले पराजय भोगेपनि कत्ति निराश नभई पार्टी संगठनमा अगाडि बढि रहे पन्त । सत्ताग्रह लगायत २०४६ सालको आन्दोलन सम्म निरन्तर लागि रहे । 

यसरी निरन्तर रुपमा लागि रहँदा २०२८, २०३६ र २०४६ मा उनी जेलसमेत परेका थिए । २०४६ सालको परिवर्तन पछि संसदीय निर्वाचन घोषणा भयो । तनहुँबाट संसदीय टिकटका लागि पन्त दाबेदारीको पहिलो पंक्तिमा थिए । तर क्षेत्र नं १ मा रामचन्द्र पौडेल, क्षेत्र नं २ मा गोविन्दराज जोशी र क्षेत्र नं ३ बाट पदमबहादुर आलेले टिकट हात पारेका थिए । टिकट पाएका तीन जना मध्ये आले पछिको दोस्रो दाबेदार आफू भएको उनको जिकिर रहेको छ । त्यतिबेला पौडेल जेलनेल खाएको नेता भएको भन्दै टिकट हात पारेको भएपनि जोशीले भने भरत शमशेरको तुरुप प्रयोग गरेर टिकट हात पारेको पन्तले बताए । पन्तका अनुसार भरत शमसेरसंग जोशीका पिता पदमराज जोशीको सम्बन्ध निकै निकट रहेका थियो । तिनै शमसेरले नेतृत्व गरेको पार्टी काग्रेसमा विलय हुन पुगेको थियो । भरत शमशेरले पार्टी काग्रेसमा विलय गराएपनि २०४८ सालको आम निर्वाचन पछि सम्म काग्रेस पार्टीमा उनको भाग छुट्याइएको थियो । यसरी छुट्याइएको भागमा भरत शमशेरले तनहुँमा जोशीलाई रोजेका थिए । जोशीलाई आफ्नो कोटाबाट टिकट दिदै गर्दा तिनै भरत शमशेरले पन्तलाई गोरखाबाट चुनाव लड्ने प्रस्ताव अगाडि सारेका थिए । तर पन्तले त्यसलाई अस्वीकार गरि दिएका थिए । त्यतिमात्र होइन पन्तलाई तनहुँबाट टिकट दिन नसकेकोमा कृष्णप्रसाद भट्राई र गिरिजाप्रसाद कोइरालाले समेत क्षमा मागेका थिए । यहाँसम्मकि २०४८ सालमा जोशी र आलेले टिकट साटेको विषयमा डेलिगेसन जाँदा हात हालाहालको स्थिती हुँदा कृष्णप्रसाद भट्राईले पन्तको हात उचालेर तनहुँ क्षेत्र नं २ बाट टिकट पन्तलाई नदिई आफूले अन्याय गरेको समेत बताएका थिए । संसदीय निर्वाचनमा टिकट नदिएपछि पन्तलाई राष्ट्रिय सभामा लैजाने विषयमा कृष्णप्रसाद भट्राई र गिरिजाप्रसाद कोइरालाले प्रतिवद्धता समेत जाहेर गरेका थिए । सोही प्रतिवद्धता अनुरुप तनहुँलाई राष्ट्रिय सभामा एक सिट छुट्याइयो पनि । तर जोशी र पौडेल बाधक बनेर क्या. नरबहादुर गुरुङगलाई राष्ट्रिय सभामा लगिएको पन्तको भनाई छ । जिल्लामा मेरो गाउँ तहका सम्मका कार्यकर्तासंग राम्रो सम्बन्ध थियो राष्ट्रिय सभामा लगेपछि आफूहरु पछि परिन्छ भन्दै जोशी र पौडेल मिलेर बार लगाए पन्तले भने । त्यसपछि राष्ट्रिय राजनीतिमा उनीहरुको बोलबाला बढ्दै जान थाल्यो अगाडि बढ्ने अवसर पाइएन पन्तले भने । पन्तका अनुसार जोशी र पौडेलले त्यतिबेला जिल्लाको राजनीतिक सन्तुलन मिलाउन पर्छ भन्दै आदिवासि जनजातिलाई राष्ट्रिय सभामा लैजाउनु पर्छ भनेर नेताहरुलाई दबाब दिएका थिए । यद्यपी टिकट नपाएपनि २०४८ सालको निर्वाचन र मध्यावधि निर्वाचनमा गिरिजा प्रसाद कोइरालाको आग्रहलाई स्वीकार गर्दे आफूले निस्वार्थ भावनाले निर्वाचन जिताउनु पक्षमा लागेको पन्त बताउँछन् । राजनीतिक रुपमा कुनै अवसर नपाएपनि गिरिजाप्रसाद कोइरालाले बोलाएर उनलाई सहकारी विकास बोर्डको सह–अध्यक्ष र साझा प्रकाशनको बोर्ड अध्यक्षको जिम्मेवारी भने दिएका थिए ।

जुगाँको लडाई
जीवन भर काग्रेस पार्टी र प्रजातन्त्रका लागि भनेर लडेका पन्त पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशी बीचको लडाई अरु केही नभएर जुगाँको लडाई भएको बताउँछन् । २०४६ सालको परिवर्तन पछि समान्तर रुपमा सत्ता बसेका यि दुईको लडाईको कुनै अर्थ नरहेको र यसले पार्टीलाई क्षतिमात्र पुर्याउने पन्तको भनाई रहेको छ । यो गम्भिर परिस्थितिमा पार्टीका नेता तथा कार्यकर्ता जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा पन्त बताउँछन् ।

प्रजातान्त्रिक समाजवादको नीति लागू गर्न भन्दै
एउटा मात्र घडेरी लिने नियम बनायौं

यसैबीच दमौलीमा सदरमुकाम स्थान्तरण भएसगै मेघनाथ कैनीको संयोजकत्वमा घडेरी विक्री वितरण समिति गठन भयो ।

फुटको १० रुपैयाँका दरले घडेरीको मूल्य तोकियो । तर पन्तले प्रजातान्त्रिक समाजवादको नीति लागू गर्नुपर्छ भन्दै समितिका सदस्य र अन्यलाई समेत एउटा बाहेक घडेरी किन्न दिन नहुने नियम त्यति बेला बनाएको बताए । जुन नियममा समितिका सदस्य देखि अन्य सर्वसाधारण समेत बाँधिन पुगे । त्यतिबेला चाहेको भए दमौलीमा धेरै जग्गा किन्न सक्थ्यौं । तर त्यसो गरिएन उनले भने । पन्तका अनुसार तारापति भट्राईले त त्यहि एउटा घडेरी पनि लिएका थिएनन । त्यतिमात्र होइन दरै र बोटेको सम्पति जोगाउनु पर्छ भनेर आफूहरुले दरै र बोटेलाई असामी बनाएर जग्गा नलिने र अरुलाई पनि लिन रोक लगाएको बताए ।

त्यस्तै हाल नगरपालिका रहेको जग्गा समेत तत्कालिन कृषि परियोजना प्रमुखलाई कन्भिन्स गराएर आफूले कृषि कार्यालयको नाममा पास गरेको पन्तले बताए । जुन जग्गा रामचन्द्र पौडेलले स्थानीय विकास मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्दा साँटफेर गरेका थिए । ।
 
 
 
shares