Sharing is caring!

डम्बर अधिकारी
निर्दलीय पञ्चायतका नायक र लोकतन्त्रका खलनायक भनेर चित्रित गरिएका डा. तुलसी गिरी मंगलबार देखि यस धर्तिबाट बिदा भएका छन् ।यस दुःखद घडीमा सर्वप्रथम त स्वर्गीय गिरी प्रति श्रद्धासुमन व्यक्त गर्दे शोकसन्तप्त परिवार प्रति हार्र्दिक समवेदना व्यक्त गर्न चाहन्छु । खासगरी महामानव विपी कोइरालाको सम्र्पकबाट नेपाली राजनीतिमा प्रवेश गरेका गिरी काग्रेस पार्टीको महामन्त्री हुँदै विपीकै पालामा परराष्ट्रमन्त्री सम्मको जिम्मेवारी सम्हालेका थिए । तर गिरी २०१७ सालको राजनीतिक घटनाक्रम पछि नेपाली काग्रेस परित्याग गरी पञ्चायती शासन व्यवस्थाको सुत्रधार हुन पुगे । यहाँसम्मकी गिरीलाई पञ्चायती व्यवस्थाको आमा नै भन्नेहरुको समेत नेपाली राजनीतिमा कमी देखिदैन । पञ्चायती शासन व्यवस्थाको सुत्रधार गिरी मन्त्रिपरिषदको अध्यक्ष हुँदै प्रधानमन्त्री र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्रिपरिषदको उपाध्यक्ष समेत हुन पुगे । यद्यपी पञ्चायती शासन व्यवस्थाका सुत्रधार भएपनि राजनीतिक रुपमा गिरीको सम्बन्ध पछिल्लो समयमा पनि लोकतन्त्र पक्षधर राजनीतिक दलका नेताहरु संग निरन्तर रुपमा रही रहेको विषय उनको निधन पछि क्रमसः सार्वजनिक हुन थालेका छन् । राजनीतिमा गिरी नायक हुन या खलनायक त्यो इतिहासले मूल्याङकन गर्ने विषय हो । तर गिरी यो धर्तिबाट बिदा हुदै गर्दा अर्को एउटा वहसको विषय छाडेर गएका छन् ।त्यो विषय हो हिन्दुत्वको विषय ।

धार्मिक हिसाबमा गिरी इसाई धर्म अगालेका व्यक्ति हुन । पारिवारिक स्रोत अनुसार गिरीले इसाई धर्मको जेवुवा विटनेस सम्प्रदाय अगालेका थिए । यतिखेर गिरीको पार्थिव शरीर अन्तिम दाहसंस्कारका लागि पशुपति आर्यघाटको विद्युतीय शवगृहमा लैजान तयारी भईरहेको छ । यो गिरीको इच्छानुसार गर्न लागिएको हो । एक नेपाली नागरिक भएको नाताले गिरीको इच्छानुसार पशुपतिमा दाहसंस्कार गरिनु कुनै असामान्य विषय होइन । तर इसाई धर्म अगालेका गिरीले अन्तिम इच्छा जाहेर गरेकै भरमा हिन्दुहरुको पवित्र आर्यघाटमा गिरीको अन्तिम दाहसंस्कारका लागि अनुमति दिनु कति जायज विषय हो ? आम नेपालीले प्रश्न गर्नुपर्ने महत्वपूर्ण घडी आएको छ । यसका साथै इसाई धर्म अंगालेका अन्य सयौं व्यक्तिले आफ्नो अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा नै गर्ने इच्छा रहेको भन्दै इच्छापत्र जाहेर गरे भने त्यसलाई अनुमति दिने कि नदिने एउटा गम्भीर प्रश्न उब्जिन पुगेको छ ।

हो इसाई धर्म अगालेका प्रत्येक नेपाली नागरिकको भावनालाई राज्यलाई कदर गर्नुपर्दछ ।तर वैदिक सनातन हिन्दु धर्म माथि प्रहार गर्ने हिसाबले भने कुनै पनि नेपाली नागरिकको भावना कदर गर्ने ठेक्का राज्यलाई छैन । यसो भन्दै गर्दा गिरीको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटको विद्युतीय शवदाहमा गर्न दिइनु हुँदैन भन्ने होइन तर सनातन वैदिक सनातन हिन्दु धर्म अगाल्नेहरुको भावना माथि प्रहार गर्न पाइदैन ।


विगतलाई फर्केर हेर्ने हो भने नेपाल परापूर्वकाल दखिनै हिन्दुत्व अर्थात ऋषिमुनिहरुले ध्यान गर्दे आएको स्थान हो । जुन विषय हिन्दु धर्मग्रन्थबाट स्पष्ट हुन्छ ।त्यतिमात्र होइन यो भूमिको प्रत्येक कण कणमा हिन्दु धर्मका देवताहरुको बास रहेको विश्वास रहि आएको छ । तर दुरभाग्य ,राजनीतिक दलका नेताहरुको अदुरदर्शीताका कारण नेपाललाई धर्मनिरपेक्षता घोषणा गरिएको छ । जसका कारण हिन्दुत्व र नेपाली राष्ट्रियता माथि नै प्रहार गर्ने काम भईरहेको छ । त्यो पनि नागरिक स्तरबाट नभई सरकारको तर्फबाट ।जसको ज्वलन्त उदाहरणका रुपमा सरकारको प्रत्यक्ष संलग्नतामा केही समय अगाडि राजधानीमा आयोजना गरिएको एसिया प्यासिफिक समिट सम्मेलनलाई लिन सकिन्छ । एकातिर इसाई धर्म अगालेका गिरीले जीवनको अन्तिम क्षणमा आफ्नो दाहसंस्कार पशुपतिको आर्यघाटमा गरिदिनु भन्दै इच्छा जाहेर गर्नु र अर्को तर्फ मुलुकलाई इसाईकरण तर्फ धकेल्न खोज्ने प्रपञ्च त होइन ?यस विषयमा पनि गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।
अन्तमा, स्वर्गीय डा. गिरी प्रति भावपूर्ण श्रद्धासुमन ।

 
 
 
shares