Sharing is caring!

तनहुँका कांग्रेसीहरुलाई तह लगाउन आइजीपी तुरुप बनेको कांग्रेसीहरुको भनाई

सेतीमादी संवाददाता
दमौली १० मंसिर

नेपाल प्रहरीको पेशागत मर्यादालाई लत्याउँदै नेपाल प्रहरीका आईजीपी सर्वेन्द्रनाथ खनाल आइतबार तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठको निर्वाचन क्षेत्र सम्र्पक कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।
जबकि सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालय तनहुँको हाता भित्र पत्रकार सम्मेलन कक्ष सहितका दुई वटा सुविधा सम्पन्न भवन रहेका छन् । यसरी प्रहरी कार्यालयको सुविधा सम्पन्न भवन हुँदाहुँदै सांसदको निर्वाचन क्षेत्र सम्र्पक कार्यालयमा गएर पत्रकार सम्मेलन गरेको विषयलाई जिल्लाबासीले आलोचना गरेका छन् ।
सोही पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा आयोजना गरिनु पर्ने पत्रकार सम्मेलन किन सांसदको निर्वाचन क्षेत्र सम्र्पक कार्यालयमा आयोजना गरियो भनि सेतीमादी सम्वाददाता प्रकाश अधिकारीले आइजीपी खनाललाई जिज्ञासा राख्दा गलत सोच राख्ने प्रति आफ्नो केही भनाई नरहेको खनालको भनाई थियो ।आफू नेपाल प्रहरीको आइजीपी भएको र सबैको साँझा व्यक्ति भएको उनको भनार्ई थियो । त्यस्तै पत्रकार सम्मेलन औपचारिक नभएको भन्दै आइजीपी खनालले आफ्नो बचाउ गरेका थिए ।
सो अवसरमा आइजीपी खनाललाई सांसद श्रेष्ठले दोसल्ला ओढाएर स्वागत गरेका थिए भने नेकपाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताले फूल माला लगाएर स्वागत गरेका थिए । यता सांसदको निर्वाचन क्षेत्र सम्र्पक कार्यालय पुगेर पत्रकार सम्मेलनमा सहभागी भएका आइजीपीको उक्त गतिविधीलाई तनहुँका काग्रेसीहरुलाई तह लगाउने सांसद श्रेष्ठको तुरुप आइजीपी बनेको भनि टिप्पणी गरेका छन् । यसका अलवा सांसद श्रेष्ठको इशारामा लागेर तनहुँका कांग्रेसीहरु तह लगाउने विषयमा आइजीपी तुरुप बनेको आरोप लाग्न थालेको छ ।

काग्रेसीलाई जनताले तह लगाई सके —सांसद श्रेष्ठ


यसैबीच नेपाल प्रहरीका पेशागत मर्यादालाई लत्याउँदै नेपाल प्रहरीका आईजीपी सर्वेन्द्रनाथ खनाल तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठको सम्र्पक कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएको विषयमा सञ्चारकर्मीले प्रश्न उठाएको विषयमा आइजीपी खनालसगै सांसद कृष्णकुमार श्रेष्ठले यो कार्यालय नेकपा र आफ्नो नभर्ई सिङगो क्षेत्र नं १ बासीको सम्र्पक कार्यालय भएको बताएका थिए ।
यो कार्यालय सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेको समेत सांसद श्रेष्ठको भनाई थियो । त्यस्तै तनहुँका काग्रेसलाई निर्वाचनमा जनताले तह लगाएको भन्दै सांसद श्रेष्ठले आइजीपी खनाल पत्रकार सम्मेलनमा सहभागी भएको विषयको बचाऊ गरेका थिए ।

आइजीपी जिल्ला प्रहरी कार्यालयमा छिरेनन्
यसैबीच आइजीपी खनाल सदरमुकाम दमौली आएर पनि आइतबार जिल्ला प्रहरी कार्यालय भने छिरेनन् ।
जिल्ला प्रहरी नछिरेको विषयप्रति पनि आइजीपी खनालको टिप्पणी भएको छ । यद्यपी चन्द्रावती , भन्सार र डुम्रेका प्रहरी चौकीमा आइजीपी खनाल छिरेर त्यहाँको वस्तु स्थितीको बारेमा जानकारी लिएको बुझिएको छ ।

 
 
 
shares