Sharing is caring!

दमौली २२ मंसिर ।
नेपाली काग्रेसको केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपालमा हिन्दूत्व कायम नगर्ने हो भने मुलुकको अस्तित्व माथि नै खतरामा रहेको बताएका छन् ।

साथै पूर्वमन्त्री भण्डारीले नेपालमा हिन्दूत्व कायमका लागि नेपाललाई जतिसक्दो छिटो हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने बताएका छन् । पछिल्लो समयमा नेपाली संस्कृति माथि चौतर्फी आक्रमण भईरहेको र त्यसले नेपाल कला ,धर्म —सस्कृति र रीतिरिवाज माथि नै धावा बोल्ने काम भईरहेको हुँदा त्यसलाई रोक्न तर्फ ध्यान दिनुपर्ने बताएका छन् । सो कुरा पूर्वमन्त्री भण्डारीले वन वातावरण श्रमिक संघ नेपालको प्रथम गण्डकी प्रदेश भेलाको उद्घाटनका क्रममा शुक्रबार सोतीपसलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताएका हुन । त्यसक्रममा पूर्वमन्त्री भण्डारीले हिन्दू धर्म सिध्याउनका लागि दुई तिहाईको वर्तमान सरकार नै सक्रिय रुपमा लागि परेको बताएका थिए । जसको ज्वलन्त उदाहरणका रुपमा केही समय अगाडि क्रिश्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलनमा सरकारको प्रत्यक्ष सहभागिता लिन सकिने पूर्वमन्त्री भण्डारीको भनाई रहेको थियो ।

 

यो मुलुकमा जति पनि परिवर्तन भएका छन् ति परिवर्तन काग्रेसकै नेतृत्वमा भएको हुँदा काग्रेस कार्यकर्ताहरु कसैसंग झुक्नु नपर्ने पूर्वमन्त्री भण्डारीको भनाई थियो । काग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसक्दा निर्वाचनमा पराजय भोग्नु परेको समेत भण्डारीको भनाई थियो । काग्रेस प्रतिपक्षमा बस्दै गर्दा सरकार देखि प्रहरी प्रशासनले दुःख दिने काम गरेको पूर्वमन्त्री भण्डारीको भनाई थियो ।यदि सरकार र प्रहरी प्रशासनबाटै कतै त्यस्ता गतिविधीमा भएमा त्यसलाई सहेर नबस्न समेत भण्डारीले निर्देशन दिएका थिए । सो अबसरमा पूर्वमन्त्री भण्डारीले वन तथा वातावरणका हिसाबमा नेपाल निकै सम्भावना बोकेको मुलुक भएको हुँदा वन तथा वातावरणको क्षेत्रको प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिएका थिए । साथै वन तथा वातावरणको क्षेत्रको सदुपयोग गर्न सकेमा मुलुकलाई समृद्ध बनाउन गाह्रो नरहेका समेत पूर्वमन्त्री भण्डारीको भनाई थियो । त्यस्तै वन तथा वातावरणको क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई उचित पारिश्रमिक व्यवस्था गर्नुपर्नेमा समेत पूर्वमन्त्री भण्डारीले जोड दिएका थिए । सोही कार्र्यक्रममा बोल्दै वन तथा वातावरण श्रमिक संघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद थानीले वन वातवरण श्रमिकका पक्षमा काग्रेसले सशक्त ढंगले आवाज उठाउनुपर्नेमा जोड दिएका थिए ।साथै काग्रेसले ध्यान नदिदाँ वन संग सम्बन्धित संघ संस्थाबाट काग्रेसले हात धोइ रहनुपरेको थानीको भनाई थियो ।यस विषयमा पार्टीले गम्भीर भएर सोच्नुपर्ने समेत थानीको भनाई थियो । कार्यक्रममा नेपाली काग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल ,मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे,नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारी लगायतले बोलेका थिए ।

 
 
 
shares